चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्नुहोस्: प्रहरी

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ।

दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ । यस्ता विवरण राख्न सबैलाई अनुरोध गरेको काठमाण्डौका प्रवक्ता मैनालीले बताउनुभयो।

प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ।

चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा बैंक वित्तीय संस्था, भिडभाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको सङ्ख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउने तयारी गरेको प्रहरीले बताएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation