नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु, सम्पूर्ण तयारी पूरा

काठमाण्डौ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । उद्घाटनमा ओलम्पिक टर्च ओलम्पियन टीकाबहादुर बोगटीले प्रज्वलन गर्नेछन् ।

मार्चपास, झाँकी, गीत, नाचगान लगायतका कार्यक्रम रहेको छ । कोभिड महामारी लगायतका कारण ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

प्रतियोगिताका धेरैजसो खेलहरु पोखरा रङ्गशालामा हुनेछन् । प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदैछन् ।

नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागे पनि क्रिकेट, ह्याण्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिस्पर्धा यसअघि नै सुरु भइसकेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले बताउनुभएको छ। रासस

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation