आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

उपकार अनलाइन, रुपन्देही ।
विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२ का दिन चन्द्रमा सूर्यको अगाडिबाट ने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ । विश्वभरका मानिसहरूले आआफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन् । यस आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र युनाइटेड किंगडमको गुर्नसेको उत्तरी गोलार्धमा देखिनेछ र उत्तरी ध्रुव र रुसमा चाहिँ ग्रहणको सबैभन्दा चरम सीमा देखिनेछ ।

यो ग्रहण नेपाल भारतका साथै युरोप, अफ्रिकाको उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ । करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। साँझ ५ बजेर २४ मिनेटमा ग्रहणको अवधि सकिनेछ ।

ग्रहणको समयमा के गर्ने ?

ग्रहणको समयमा ग्रहण स्पर्श भए सँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरुङ्गी, निमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसका साथै ग्रहण कालमा आफ्नो दीक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौं गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रह पीडा कम भई नवग्रहको असीम कृपा प्राप्त हुनेछ ।

कुनै जातकको जन्म कुण्डलीमा सूर्य ग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदि कोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।

ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभीत हुनुहुँदैन यस खण्डग्रास सूर्य ग्रहणले मनुष्य जीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभीत नभई ग्रहणलाई सम्यक् रूपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक ऊर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहण कलमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसोकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसी पत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक ऊर्जालाई रोक्ने सहयोग गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation