विकासको मोडल हेर्न रुपन्देही आउन पर्छ, लोक दोहोरी गायक पंगेनी

रुपन्देही । लोकदोहोरी गायक बद्री पंगेनीले विकासको मोडल हेर्न रुपन्देही आउनुपर्ने बताएका छन् । ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्यांकन गर्नुहोस्, यहाँको विकासले बुटवल, रुपन्देही र प्रदेश मात्रै होइन देशमै नयाँ मोडल दिएको छ, यसको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासे नेताको छवि बनाएर देखाउनु भएको छ’– उनले भने ।

रुपन्देही क्षेत्र नं. २ को बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गीत गाउन आएका पंगेनीले देशभरमै पौडेल विकासे नेतामध्ये पहिलो भएको दावी गरे । मुलुकको अहिलेको आवश्यकता विकास र समृद्धि नै भएकोमा पंगेनीले जोड दिए । ‘विकास र समृद्धि अहिलेको आवश्यकता हो, त्यसका लागि तपाईहरुले विष्णु पौडेलजस्तो नेता पाउनुभएको छ’–पंगेनीले भने–‘काठमाडौं र नेपालभरि नै विकासे नेता को भन्यो भने विष्णु पौडेलको नाम सबभन्दा पहिला आउँछ ।’

पौडेलको नेतृत्वमा विशेषगरी रुपन्देही र लुम्बिनी प्रदेशमा भएका विकास निर्माणका कामहरुको अथाह प्रमाणहरु खोज्न सकिने गायक पंगेनीले उल्लेख गरे । ‘उहांले ल्याएका बजेटहरु,योजनाहरु,भिजनहरु, बजेट कार्यान्वयन गर्ने कार्यक्षमता शायदै अरु नेताहरुमा हुनसक्ला’–पंगेनीले भने–‘स्थानीय तहका वडा वडासम्म समन्वय गरेर वजेट कार्यान्वयन गर्ने क्षमता उहांमा धेरै छ ।’

पंगेनीसंगै गायिका पूर्णकला बीसीले पनि नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठको पक्षमा गीत गाएका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation