![](https://upakaronline.com/wp-content/uploads/2022/11/Al-Janoub-Stadium_bWbz6RaCLh-670x420.jpg)
काठमाण्डौ । फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् ।
उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह ए मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स, समूह सी मा अर्जेन्टिना, साउदी अरब, मेक्सिको र पोल्यान्ड र समूह ुडीु मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिया रहेका छन् ।
यस्तै, समूह ई मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह एफ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह जी मा ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा समूह ुएचुमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् । फाइनल खेल पुस ३ गते हुनेछ । विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो ।
कतारले १२ वर्षअघि विश्व कप आयोजनाको जिम्मेवारी पाएको थियो । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएको थियो । सन् १९३० देखि सुरु भएको विश्व कपमा अहिलेसम्म ८ वटा देशले मात्रै उपाधि जितेका छन् ।
जसमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जितेको छ । यस्तै, इटली र जर्मनीले चार–चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई–दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक–एक पटक उपाधि जितेका छन् ।