मौसमी फ्लुका बिरामी बढे, रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही नगर्न डाक्टरको सुझाव

काठमाण्डाै । केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा उपचारमा पुग्ने केहीमा निमोनियासमेत देखिएको छ ।

रुघाखोकीलाई सामान्य रुपमा लिँदा कतिपयलाई जटिल समस्या देखिन थालेको छ । दुई–चार दिनपछिसम्म पनि रुघाखोकी र ज्वरो ठिक नभए उपचारका लागि अस्पताल जान डाक्टर बमको सुझाव छ । उहाँका अनुसार चार पाँच दिनसम्म पनि रुघाखोकी र ज्वरो निको नभए स्वास्थ्यमा जटिल समस्या देखिने भएकाले तुरुन्त स्वास्थ्य जाँच गराउनु  पर्छ । रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही गर्न नहुने उहाँले बताउनुभयो।

वायु प्रदूषण र चिसोका कारण जाडोयाममा निमोनियाको जोखिम धेरै हुन्छ । डाक्टरका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक हप्तामा आफैँ हराएर जान्छ भने केहीमा भने जटिल समस्या देखिन्छ ।

सामान्य भनेर रुघाखोकीलाई बेवास्ता गरे बूढापाका, दीर्घरोगी, क्यान्सर, रोग प्रतिरोधक क्षमता कम भएका मधुमेहका बिरामी र बालबालिकाको भने ज्यान जाने जोखिम हुने त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बम बताउनुहुन्छ । उहाँका अनुसार विगतका वर्षमा यस्ता बिरामीको ज्यान गएको तथ्याङ्क छ । त्यसैले रुघाखोकी र ज्वरोलाई सामान्य रुपमा नलिन डाक्टरको सुझाव छ ।

मौसमी रुघाखोकीका लक्षण भएकाहरू सकेसम्म अरूको सम्पर्कबाट दूरी बनाएर बस्ने, खोक्दा हाच्छ्युँ गर्दा मुख छोप्ने र मास्क लगाउने गरे सङ्क्रमण फैलन पाउँदैन । मौसमी फ्लु र रुघाखोकीको सङ्क्रमणबाट जोगिन मास्क लगाउनुका साथै सरसफाइ र चिसोबाट बच्नु पर्ने डाक्टरको भनाइ छ ।

ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएकाहरूले तागतिला मनतातो झोलिलो पदार्थ खाएर र न्यानो भएर घरमै आफ्नो हेरचाह गर्न सक्छन् । तर, यसरी बसेको ७२ घण्टासम्म पनि कम नभए भने अस्पताल जानु पर्ने डाक्टरको सुझाव छ ।

चिसो र मौसमी फ्लुबाट जोगिन तानो न्यानो कपडा लगाउन, मन तातो पानी र झोलिलो पदार्थ खान, हरियो सागसब्जी र फलफूल खान डाक्टर बमको सल्लाह छ ।  तर फ्रिजमा राखिएका खानेकुरा नतताइ खानु हुँदैन । यस्तै, जाँड रक्सी र सुर्ती चुरोट पनि नखान डाक्टरको आग्रह छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation