
काठमाडौँ । कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय ‘मानवीयताका आधारमा युद्धविराम’ गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ ।
कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ ।
इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको हो । इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो ।
सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ । हमासले पनि टेलिग्राममा बयान जारी गर्दै ‘मानवीय आधारमा युद्धविरामका लागि सहमति’ भएको जनाएको छ । हमासले इजिप्ट र कतारलाई मध्यस्थताका लागि धन्यवादसमेत दिएको छ ।
हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ । जसमा नेपालका विद्यार्थी विपिन जोशीसमेत रहेका छन् । इजरायली सुरक्षा फौजले जोशी हमासको कब्जामा गाजामा रहेको दाबी गरेको छ । जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि अस्पतालमा लैजाँदै गरेको भिडियो उसले सार्वजनिक समेत गरेको छ । तर उक्त भिडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।
गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।