दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको ज्यान गयो

एजेन्सी । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु ६४ जना घाइते भएका छन् ।

सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ। जग्गाका  कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ ।

दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् । सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । अबेई क्षेत्रमा खटिएको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा बलले अस्ति भएको आक्रमणमा घानाका एक जना शान्ति सेनाको ज्यान गएको जनाएको छ ।

साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर यो आक्रमणमा नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation