काठमाडौँ । ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु टोली क्यानडासँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको हो। सिरिजको अघिल्लो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।
पछिल्लो समय नेपाली टोली एक दिवसीय र टी २० का समान दुई खेलमा क्यानडासँग पराजित भएको छ। नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। क्यानडाका साद विन जफर ३३ र रविन्द्रपाल सिंह २० रनमा अविजित रहे।
कप्तान निकोलस किर्तन २६ र ओपनर दिलप्रित बाज्वा २५ रनमा पेभेलियन फर्के। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामीले एक विकेट झारे।
त्यसअघि किंग सिटीमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले १ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि त्यसपछिका ब्याटरले आक्रमक खेल प्रस्तु गर्न सकेनन्।
अनिल शाह ४१ र आशिफ शेख ३० रनमा आउट भए। कुशल भुर्तेल १३ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। गुल्सन झा २३ र करण केसी ८ रनमा अविजित रहे। सिरिजको अन्तिम खेलमा नेपालले आज बुधबार ओमानसँग खेल्नेछ। ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो।
सिरिजपछि नेपाली टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ।