
विद्यार्थी भाईबहिनीहरु !
थोरो भन्ने ब्यक्तिको एउटा भनाई छ “पुरानो कोट लगाउ,नयाँ पुस्तक किन” हो,अहिले तिमिहरुको पढ्ने उमेर हो,राम्रा राम्रा असल पुस्तक पढ्ने बानी बसाल पुस्तकमा लगानी गरेको कहिल्यै खेर जाँदैन । जिवनको गाडी चलाउन ज्ञान भन्दा उत्तम साधन केही हुदैन,पैसा मात्र सबैथोक होईन । पैसा भन्दा ठूलो इच्छाशक्ति हो, म के बन्ने,मेरो दायित्व के हो,मैले मेरो परिवार,मेरो समाज र मेरो राष्ट्रको लागि के योगदान दिन सक्छु,मैले मलाई कसरी सक्षम बनाउन सक्छु, त्यतातिर ध्यान देउ, हेर त ! माईकल फेराडेले अल्छी गरेर बसेको भए,मनोरञ्जन गरेर बसेको भए विद्युत आविष्कार हुन्थ्यो र ?
न्युटनले रुखबाट स्याउ खस्दा टाउकोमा लागेर टाउको मिच्दै मुर्मुरिदै रिसाउँदै उठेर हिडेको भए,गुरुत्वाकर्षण सिद्धान्त प्रतिपादन हुन्थ्यो र ? के अहिले हवाईजहाज,रकेट उड्न सक्थे । उनका चाल सम्बन्धि नियमले अहिले विज्ञानको क्षेत्रमा ठूलो उन्नति र प्रगति भएको छ,थोमस अल्वा एडिसनले हजार पटक परिक्षण गरेर विजुलीको बल्व आविष्कार गरे जसको परिणाम स्वरुप संसारका सबै जनहरु रात्रीमा पनि उज्यालो बनाएर रमाउन पाएका छन्, यो सबै लगनशिलता र परिश्रमको परिणाम हो,संसारमा जन्मेका कुनै पनि वैज्ञानिक धनी बाबुआमाका छोराछोरी थिएनन्,तिनीहरु गरिबका छोराछोरीहरु थिए, तर हिम्मत, साहस, परिश्रम, लगनशिलता र ईमान्दारिताले उनिहरुले ठुलठुला आविष्कार गरेर अहिले हाम्रो जिवनको दैनिकी सहज बनेको छ, बरु, पुरानो कमिज लगाउ, पुरानो जुत्ता लगाउ,सामान्य बनेर हिड,तर पुस्तक किन आफ्नो विषयवस्तुमा पारङ्गत होउ,तिमिमा त्यो साहस र आँट छ,ईश्वरले हरेक मानिसलाई भिन्न भिन्न प्रकारको सिप र प्रतिभाहरु दिएको छ त्यसलाई चिन,प्रयोगमा ल्याउ र प्रख्यात बन ।
सबैको दिमागको तौल अौसतमा १००० देखि १५०० ग्राम हुन्छ,ईश्वरले बराबरी दिएर हामिलाई यो धर्तिमा पठाएका छन्,तिमी कुनै पनि कुरामा कमि छैनौ, हेर त झमक कुमारी घिमिरे शारीरिक रुपमा विकलांग भएपनि आफ्नो बहिनीले पढेको देखेर अँगार खुट्टाले समाई भुँईमा लेखेर कखरा सिकिन्,बाबुले कापि पेन्सिल नकिन्दिएर बहिनीलाई मात्र किनिदिने गरेकोमा हावामा अक्षरहरु लेखेर कल्पनामा रमाएर,पढेर देशकै ठूलो साहित्यकार बनिन्,मदन पुरस्कार पाईन् ।
पाकिस्तान कि मलाला युसुफ एउटी बालिका जसले बालबालिकाको हक अधिकारको लागि लडिन् र विश्वप्रसिद्ध नोबेल पुरस्कार जितिन् । तिमिमा पनि अदम्य साहस छ,अदम्य क्षमता छ भन्ने सोच र त्यहि अनुसार कर्म गर,तिमी आफुमा केही कमि छैन,म पनि सक्षम छु भन्ने आत्मससुझाव निरन्तर आफ्नो मष्तिस्कलाई देउ र भन म जे पनि गर्न सक्छु, म सक्षम छु भन, म केही गरेर देखाउँछु भन र अठोटका साथ आफ्नो कर्ममा निरन्तरता दउ, एकदिन अवश्य सफल हुन्छौ, पटक पटक असफल हुँदा पनि हरेस नखाउ, के थोमस अल्वा एडिसनले बिजुलीको बल्व आविष्कार गर्दा ९९९ पटक असफल भएर पनि हार मानेको भए हामिले बल्व बाल्न पाउँथ्यौ र उनले १००० औं पटकको प्रयासमा विजुलीको बल्व आविष्कार गरेका थिए । त्यसैले भनिन्छ नि असफलता नै सफलताको प्रतीक हो ।
एउटा असफलताले सफलताको लागि एक स्टेप सिँढी थप्छ रे । यो कुरालाई सदैव मनन् गर,केवल खानेकुरा,मनोरञ्जनमा,लगाउने लुगामा मात्र ध्यान नदेउ,खान त किरा फटयांग्राले नि खान्छ,यौन सम्पर्क गर्छ,सन्तान जन्माउँछ,तर हामी त मानिस हौ । मानिस भएपछि मानव कल्याणको काम गर्नुपर्छ,ठुला ठुला महापुरुषहरुको जिवनी पढ,तिनिहरुले के के कर्म गरेर महान भए,त्यसलाई अनुकरण गर्ने प्रयास गर,साहित्यकार बन्ने मन छ भने कवि शिरोमणी लेखनाथ पौड्याल र महाकवि देवकोटा तथा झमक कुमारी घिमिरेको जिवनी पढ,राजनेता बन्नु छ भने अब्राहम लिंकन,पुष्पलाल,मदन भण्डारी,विश्वेश्वर प्रसाद कोईराला,महात्मा गान्धि जस्ता महापुरुषको जिवनी पढ,उद्योगपति कसरी बन्ने भन्ने बारेमा विनोद चौधरी,धिरुभाई अम्वानीका जिवनी पढ,बैज्ञानिक बन्नु छ भने अल्बर्ट आइन्टाईन,स्टेफन हकिन्स जस्ता वैज्ञानिकको जिवनी पढ,अध्यात्ममा योगगुरु वा सन्त बन्ने आकांक्षा राख्छौ भने गौतम बुद्ध, श्रीश्री रविशंकर, जगद्गुरु, योगि नरहरीनाथ तथा खप्तड बाबा र शिवपुरी बाबाका जिवनी पढ ।
संसारमा जे जति महान कार्य भएका छन् ती सबै मानव कल्याणको लागि मानवले आफ्नो स्वार्थलाई त्यागेर अरुको कल्याणका लागि मरिमेटेर दिलोज्यान दिएर भएका छन् । हाम्रै नेपालका सेवालालले करोडौ रुख रोपेर वातावरण संरक्षण गर्नुपर्छ भन्ने शन्देश दिएका छन् । डा.सन्दुक रुईतले लाखौ मानिसलाई दृष्टि दिएर समाजसेवा गरेका छन् । डा.भगवान कोईरालाले हजारौ मुटुका रोगिहरुलाई उपचार गरेर बचाएका छन् । यस्ता व्यक्तित्वहरु जसले आफ्नो स्वार्थलाई तिलान्जली दिएर नितान्त अरुको लागि सेवा दिएर आफ्नो नाम सुनौलो अक्षरले लेखेका छन् । भाइ बहिनीहरु ! हाम्रा प्राचीन ऋषिमुनिहरुले मानवताको लागि र सम्पुर्ण पृथ्वीवासीको कल्याण गर्न यज्ञ,उपासना,प्रारब्ध सेवा गर्दथे । आज अझै पनि कुनै समय वितेको छैन,आफुलाई सक्षम बनाउन धेरै
पढ,मिहिनेत गर जोस जाँगर चाहिँ आफुलाई काबिल तथा सक्षम बनाउनको लागि प्रयोग गर,तिम्रो बाबुआमा तिमी चम्किलो तारा हौ,यो समाजको,यो देशको कर्णधार हौ तसर्थ जे विषय पढेका छौ,त्यसमा सक्षम होउ,धेर पढ,खुव पढ,यो संसार भनेको मिहिनेतिहरुको हो,परिश्रमिहरुको हो,जसले श्रम गर्यो त्यो देश र समाजको लागि योग्य हो,अन्यथा बेकार हो । अस्तु ।
– सह-प्राध्यापक
राज कुमार अर्याल
सिद्धार्थ क्यामपस,वाणगंगा,कपिलवस्तु