
कपिलवस्तु । बाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी ले शैक्षिक गुणस्तर बढाउनको लागि एक पक्ष मात्र सकरात्मक भएर नपुग्ने बताउनु भएको छ । आज बाणगंगाको एक रिसोर्टमा सम्पन्न भएको एक दिने शिक्षकहरुका लागि सकरात्मक उर्जा सम्बन्धि कार्यशाला लाई सम्बोधन गर्दै शिक्षाको गुणस्तर बढाउन शिक्षक, अभिभावक, विद्यार्थी र सिङ्गो समाज नै सकरात्मक भएर लाग्नुपर्ने बताउनु भएको हो ।
त्यस्तै उहाँले अब शिक्षकहरुले पुरानो शिक्षण परम्परालाई छाडी बालबालिकको मनोविज्ञानलाई बुझेर आधुनिक तरिका बाट शिक्षण गर्न आवश्यक रहेको बताउनु भएको थियो । निर्धारण गरिएका उद्देश्यहरु पुरा गर्नको लगि शिक्षण प्रविधि र सामाग्री उपयुक्त हुने भएकाले सहि सामाग्री र प्रविधिको छनोट गर्न पनि यस्ता तालिम महत्वपुर्ण हुने उहाँले बताउनु भएको थियो । अझैपनि नेपालका विद्यालयमा घोकन्ते शिक्षालाई बढवा दिइरहेको भन्दै त्यसलाई विस्थापित गर्न सरकारले पहल गर्नुपर्ने जि.सी ले बताउनु भएको थियो ।
त्यस्तै भु.पु सैनिक बोडिङ्ग स्कुल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक्रम साहले यस्ता कार्यक्रमले शिक्षण पेशा के हो र कस्तो हुनुपर्छ भन्ने कुरा सिकाउन ठुलो भुमिका खेल्ने बताउनु भएको थियो । शिक्षकहरुलाई कर्तव्य निष्ठ र इमान्दार बनाउन पनि यस्ता तालिमको भुमिका महत्वपुर्ण हुनेभएकाले यस्ता तालिमहरुलाई आगामि दिनहरुमा पनि निरन्तरता दिने बताउनु भएको थियो ।
शिक्षण सिकाई क्रियाकलाप, शैक्षणिक विधि र समाग्री, प्रभावकारी पाठयोजना निर्माण, विद्यार्थी सहभागिता, सकारात्मक व्यवहार व्यवस्थापन लगायत विभिन्न विषयमा प्रशिक्षक प्रितम पौडेलले प्रशिक्षण गर्नूभएको थियो ।
उक्त कार्यशाला भु.पु सैनिक सहित सैनिक साइनिङ स्कुल मोतिपुर, आदर्श बोडिङ्ग स्कुल इमिलिया, बुद्ध शान्ति बोडिङ्ग स्कुल कुस्मा, एचिवस एकेडेमी स्कुल र ए .बि .ए एकेडेमी स्कुल कोपवाको संयुक्त आयोजनामा भएको हो ।
भु.पु सैनिक बोडिङ्ग स्कुल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक्रम साहको अध्यक्षता, बाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी को प्रमुख आतिथ्यता, बाणगंगा प्यबसन अध्यक्ष तथा ज्ञानपुञ्ज बोडिङ्ग स्कुलका प्रध्यानाध्यापक सुरेन्द्र पाण्डेको विशिष्ट आतिथ्यता, आयोजक स्कुलका प्रधानाध्यापकहरुको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ६ विद्यालयका करिब ७० शिक्षक शिक्षिकाहरुके उपस्थिती रहेको थियो ।