प्रधानमन्त्री चीनको हाङचउमा, यस्तो छ भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङचउ पुगेका छन् । न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शनिबार बिहान हाङचउ पुगेका हुन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार हाङचउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काओ झिदानले स्वागत गर्दै । तस्बिर : प्रदीपराज वन्त/ रासस

प्रधानमन्त्री दाहाल १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीनको उत्तर दक्षिणी सहर हाङचउ पुगेका हुन् । हाङचउमा प्रधानमन्त्री दाहाललाई चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काओ झिदान, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतले स्वागत गरेका थिए ।

न्युयोर्कको ५ दिने भ्रमण सकेर प्रधानमन्त्री दाहाल ८ दिने चीन भ्रमणमा निस्केका हुन् । चीनको हाङचउमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री दाहाल द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछन् ।

न्युयोर्कबाट दाहालको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य परराष्ट्र मन्त्रालयका अधिकारी चीनतर्फ लागेका हुन् ।

प्रधानमन्त्री दाहालले शनिबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङचउमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आइतबार प्रधानमन्त्री दाहाल हाङचउबाट बेइजिङ जानेछन् भने सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

यस्तो छ प्रधानमन्त्री दाहालको चीन भ्रमणको तालिका

सेप्टेम्बर २३ : एसियन गेम्सको उद्घाटनमा सहभागी हुने र हाङचउमै राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने

सेप्टेम्बर २४ :हाङचउबाट बेइजिङ जाने

सेप्टेम्बर २५ :चिनियाा प्रधानमन्त्री ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने

सेप्टेम्बर २६ :छोङछिङ महानगरमा कृषि र उद्योग अवलोकन गर्न जाने

सेप्टेम्बर २७ र २८ :तिब्बतको ल्हासा र वरिपरिको क्षेत्र

सेप्टेम्बर २९ :मानसरोवर जाने (मौसमअनुकूल भएमा मात्र)

सेप्टेम्बर ३० :नेपाल फर्कने

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation