उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं ३ मा रहेको न्यु एकेडेमी बोर्डिङ स्कुलले आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी सैनामैना नगरपालिकाकी नगर उपप्रमुख बिना रानाले वर्तमान समयमा बोर्डिङ स्कुलले विद्यार्थी उत्पादनका लागि उल्लेखनीय भूमिका सँगै स्थानीय व्यक्तिहरुलाई रोजगारको अवसर समेत दिएको र यसबाट सरकारलाई राम्रो आर्थिक उपलब्धि समेत भएको कुरा व्यक्त गर्नुभयो । विशेषगरी विद्यार्थीहरूलाई पढाउने भन्दा पनि सिकाउने कुरामा जोड दिने हो भने आगामी दिनमा संस्कारसहितको शिक्षालाई अँगाल्ने हो भने अवश्य पनि समाज र राष्ट्र सुधारुन्मुख हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद पौडेलले विद्यालय ३ बिघा क्षेत्रफलमा फैलिएको र यसमा सबै प्रकारका सेवा सुविधाहरू उपलब्ध गराई आगामी दिनमा समेत विद्यार्थीलाई सम्पूर्ण प्रकारका शैक्षिक सेवा सुविधासँगै यस ठाउँका शिक्षकहरूलाई समेत उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।
विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुति गर्दै विद्यालयका प्राचार्य टोपलाल भट्टराईले विद्यार्थीहरूले यस क्षेत्रमा उत्कृष्ट अङ्क ल्याउनुका साथै उनीहरूलाई व्यवहारिक ज्ञान र आगामी दिनमा अभिभावकहरुलाई समेत तालिम प्रदान गरी अझै उत्कृष्ट नतिजा ल्याउन सहयोग पुग्ने कुरा व्यक्त गर्नुभयो।
कार्यक्रममा छिमेकी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं प्राचार्य स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका महानुभावसँगै विद्यालयका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयको २० औँ वार्षिक उत्सवको अवसर पारेर विद्यालयका विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै विद्यालय परिसरमा नै खाना महोत्सव सँगै विज्ञान प्रयोगशाला समेत प्रस्तुत गरेका थिए।