
काठमाण्डौ । एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । जितसँगै श्रीलङ्का सुपर ४ मा पुगेको छ । अफगानिस्तानले दिएको एक सय ७० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काका ओपनर कुशल मेन्डिसले ७४ तथा कामिन्दु मेन्डिस २६ रन जोडे । अफगानिस्तानका नुर अहमद, मोहम्मद नाबी, आजमतुल्लाह ओमरजाई, मुजिबउर रहमानले १र१ विकेट लिए ।
त्यसअघि युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६९ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले ६० रन बनाए । समूह ‘बी’ मा श्रीलङ्का ३ खेलमा अपराजित रहँदै सुपर ४ मा पुगेको हो । बङ्गलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित दोश्रो स्थानमा रहेर सुपर ४ मा पुगेको छ ।
अफगानिस्तान भने ३ खेलमा १ मा जित र २ मा हारसहित तेश्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर ४ मा पुगिसकेका छन् । आज भारतले ओमानसँग खेल्दैछ । आजको खेलपछि समूह ए को विजेता टुंगो लाग्नेछ । फाइनल खेल सेप्टेम्बर २८ अर्थात असोज १२ गते हुनेछ ।