
विमल गैरे, सैनामैना ।
हाटबजार टोल विकास संस्थाले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सरसफाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
टोल विकास संस्थाकी अध्यक्ष राधिका शर्मा जैसी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको विशेष सहयोगमा टोलका सडक, नहर र सार्वजनिक स्थान सफा गरिएको थियो ।
त्यसै अवसरमा संस्थाले गत वर्षदेखि सुरु गरेको जेष्ठ नागरिक सम्मान तथा कक्षा १२ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी सम्मान कार्यक्रम पनि सम्पन्न गर्यो । यसअन्तर्गत ८७ वर्षीय रुकमाया पौडेललाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो भने, विद्यार्थी तर्फ बन्दना भट्टराई र कृपेश पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा टोल विकास समिति सल्लाहकार तथा समाजसेवी मित्र बहादुर एसीले टोल विकास संस्थाले सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई एकजुट बनाएर अघि बढाएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक नेतृत्वको जिम्मेवारीबारे गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी सैनामैना ३ का वडा अध्यक्ष तमबहादुर पुर्जाले वडाका टोल विकास संस्थाहरूमार्फत भइरहेका सरसफाइ कार्यप्रति खुशी व्यक्त गर्दै, “हामी जनप्रतिनिधि गल्ती वा भ्रष्टाचारमा संलग्न भेटिए सजाय भोग्न तयार छौं” भन्दै समाजमा हिंसात्मक गतिविधि रोकिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा टोल विकास समितिका सल्लाहकार तथा सैनामैनाका प्रथम नगर प्रमुख चित्र बहादुर कार्कीले घरभित्र मात्र नभई बाहिरको सरसफाइमा सामूहिक सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले दिगो फोहर व्यवस्थापनका लागि नगरपालिका सक्रिय हुनुपर्ने भन्दै आफूहरु जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्कीले जेनजी आन्दोलनलाई स्मरण गर्दै भन्नुभयो, “देशमा पटक–पटक आन्दोलन हुन्छन्, यसपटकको जेनजी आन्दोलनले पनि एउटा सन्देश दिएको छ । तर यस्ता परिवर्तनहरू सही ढंगले संस्थागत हुन नसके भविष्यमा फेरि १० वर्षपछि अर्को आन्दोलन दोहोरिन सक्छ । त्यसैले सचेत समाज र सक्षम नेतृत्व अबको आवश्यकता हो ।”
कार्यक्रममा हाटवजार टोल विकास संस्थाकी अध्यक्ष राधिका शर्मा जैसीले संस्थाको आर्थिक स्रोत सीमित हुँदाहुँदै पनि जेष्ठ नागरिक तथा विद्यार्थीलाई सम्मान गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“हामी सबै बुबा–आमा, दाजुभाइ तथा दिदी–बहिनीहरु मिलेर टोलमा देखा पर्ने समस्या समाधान, सामाजिक काम तथा सरसफाइ अभियानमा जुट्न सकेका छौं । यो हाम्रो सामूहिक एकताको परिणाम हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै टोललाई अझ नमूना बनाउन प्रतिबद्ध रहनेछौं ।”
कार्यक्रममा कार्यपालिका सदस्य मिरा क्षेत्री, खानेपानी संस्था अध्यक्ष प्रेम बहादुर वानिया, उपाध्यक्ष देवीदत्त सुवेदी, सहसचिव गोविन्द खरेल, कार्यलय व्यवस्थापक दिनेश आचार्य, सल्लाहकार रत्न बहादुर पौडेल, चाम बहादुर क्षेत्री, टकमाया राना, कमला पौडेल, गीता शर्मा लगायत टोलबासीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन टोल विकास संस्थाकी सचिव राधा गौतम ज्ञवालीले गर्नुभएको थियो ।