गैडहवामा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु

विमल गैरे । गैडहवा गाउँपालिकामा चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सोमवारबाट भव्य रूपमा सुरु भएको छ। गैडहवा ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न तथा खेलकुदमार्फत युवाहरूको क्षमता पहिचान गर्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खेलको माध्यमबाट गैडहवा ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बताउनुभयो। जिल्लाबाहिरका क्लबहरू तथा राष्ट्रिय टिममा खेलिसकेका खेलाडीहरूको सहभागिताले गैडहवा तालको प्रचारमा ठूलो मद्दत पुग्ने उहाँको भनाइ थियो।
अध्यक्ष पौडेलले गैडहवा ताललाई पर्यटनसँग जोड्ने काम आफ्नो जिम्मेवारी सम्हालेदेखि नै निरन्तर भइरहेको बताउँदै लुम्बिनी आएका पर्यटकलाई गैडहवा तालसम्म ल्याउने योजनामा पालिका सक्रिय रहेको जानकारी दिनुभयो। साथै गैडहवा क्षेत्रमा १३७ प्रजातिका चराचुरुंगी पाइने उल्लेख गर्दै ताललाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी उपाध्यक्ष माधुरी जैसवालले स्वास्थ्यका लागि खेलकुद अत्यन्त आवश्यक भएको उल्लेख गर्दै पालिकाले हरेक वर्ष खेलकुदमा छुट्टै बजेट विनियोजन गर्दै आएको बताउनुभयो। उहाँले स्थानीय खेलाडीलाई गैडहवामा मात्र नभइ प्रदेश तथा राष्ट्रिय तहमा आफ्नो दक्षता देखाउन प्रेरित गर्न आग्रह गर्नुभयो।

यस्तै गाउँपालिका पूर्व अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाको नाम नै गैडहवा तालबाट आएको स्मरण गर्दै विगतमा तालमा पुग्ने बाटो सुविधाजनक नहुँदा कठिनाइ भए पनि आफ्नो कार्यकालमा सुरु गरिएको विकासका कामहरू अहिले निरन्तर अघि बढिरहेको बताउनुभयो।
ताल क्रमशः पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको उहाँको तर्क थियो।

उद्घाटन खेलका नतिजा

आज सम्पन्न उद्घाटन खेलमा स्याङजा भलिवल क्लबले डाफे मुनाल युवा क्लब, गैडहवालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ।
त्यसैगरी दोस्रो खेलमा बाणगंगाले आयोजक शान्ति युवा क्लबलाई सोझो सेटमै हराउँदै विजयी सुरुवात गरेको छ।
प्रतियोगितामा प्रथम स्थानले रु १,११,१११, द्वितीयले रु ७१,१११, तृतीयले रु ३१,१११ र सान्त्वना टिमले रु २१,१११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी उत्कृष्ट सेटर, डिफेन्डर, ब्लकर, स्पाइकर र सर्वरलाई जनही रु १,५००, र सर्वोत्कृष्ट खेलाडीलाई रु २,५०० सहित सम्मान गरिनेछ। प्रतियोगिता आगामी मंसिर ११ गते सम्म सन्चालन हुने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation