त्रिविको ५१औँ दीक्षान्त आज सम्पन्न, इतिहासकै ठूलो समारोह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज (पुस १० गते) आफ्नो ५१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। इतिहासकै सबैभन्दा ठूलो दीक्षान्त समारोह दसरथ रंगशालामा आयोजना गरिएको हो।
विश्वविद्यालयका अनुसार शैक्षिक सत्र २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल, पीएचडी तथा अधिस्नातक तह उत्तीर्ण गरेका कुल ८९ हजार १९९ विद्यार्थीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका थिए।
तहगत सहभागी संख्या यसप्रकार रहेको छ :
स्नातक (Bachelor) – ११,२३४
स्नातकोत्तर (Master) – ४,८६०
विद्यावारिधि (PhD) – १५२
दर्शनाचार्य (M.Phil) – १२०
अधिस्नातक (PG Diploma) – १४
कुल आवेदक विद्यार्थी : १६,३८०
समारोहमा २३ हजार ९८० जना अभिभावकसहित करिब ४२ हजार जनाको उपस्थिति रहेको त्रिविले जनाएको छ। त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले यो सहभागिता त्रिविको इतिहासमै सबैभन्दा ठूलो भएको जानकारी दिनुभयो। दीक्षान्त समारोहमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई २५ वटा दीक्षान्त पदक तथा पुरस्कार प्रदान गरिएको छ।
यस वर्षको दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता सहभागी हुनुभयो। त्रिविको दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता सहभागी भएको यो पहिलो अवसर हो। यसले त्रिविको अन्तर्राष्ट्रिय पहिचान र शैक्षिक साख थप मजबुत बनाउने विश्वास गरिएको छ।
समारोहको अध्यक्षता त्रिविका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले गर्नुभयो। प्रधानमन्त्री कार्कीले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भन्नुभयो,
“शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, देशको समृद्धि, नवप्रवर्तन र सामाजिक रूपान्तरणको आधार हो। त्रिभुवन विश्वविद्यालयले दक्ष, जिम्मेवार र राष्ट्रप्रति प्रतिबद्ध जनशक्ति उत्पादन गर्दै आएको छ, जसले नेपालको भविष्य उज्यालो बनाउनेछ।”
उहाँले दीक्षित विद्यार्थीलाई देशभित्रै ज्ञान, सीप र क्षमताको सदुपयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रममा शिक्षा मन्त्री एवं सह–कुलपति महावीर पुन तथा उपकुलपति प्रा.डा. दीपक अर्यालको पनि विशेष उपस्थिति रहेको थियो।
भव्य उपस्थिति, अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता र ऐतिहासिक संख्यामा दीक्षित विद्यार्थीका बीच त्रिविको ५१औँ दीक्षान्त समारोह आज सफलतापूर्वक सम्पन्न भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation