
कपिलवस्तु । चिल्ड्रेन प्याराडाइज इ.बो. स्कूलको आयोजनामा बाणगंगा नगरपालिका–८, बोडगाउँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। प्रजातन्त्र दिवसको अवसर पारेर विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको हो।
विद्यालय परिसरमा बिहानैदेखि सञ्चालन गरिएको शिविरबाट २ सय ९८ जना स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सेवा लिन आउनेहरूको बिहानैदेखि उल्लेख्य भीड देखिएको थियो, जसले समुदायमा यस्ता कार्यक्रमको आवश्यकता र प्रभावलाई स्पष्ट पारेको छ।
शिविरमा निःशुल्क रूपमा जनरल स्वास्थ्य परीक्षण, नाक–कान–घाँटी तथा थाइराइड विशेषज्ञ सेवा, सुगर परीक्षण, भिडियो एक्स–रे सेवा तथा आवश्यक औषधि वितरण गरिएको थियो। विशेषगरी दीर्घरोगी, ज्येष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएका स्थानीय बासिन्दाले शिविरबाट ठूलो राहत पाएको बताएका छन्।
विशेषज्ञ चिकित्सक डा. राजन सुवेदी (MBBS, TU) र डा. बिशाल पौडेल (MS, ENT-HNS) ले बिरामीहरूको स्वास्थ्य अवस्थाअनुसार परामर्श, आवश्यक परीक्षण तथा निःशुल्क औषधि वितरण गर्नुभएको थियो। केही बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रिफर समेत गरिएको जानकारी दिइएको छ।
विद्यालयका प्रिन्सिपल माधव वेल्बासेले विद्यालय केवल शैक्षिक संस्था मात्र नभई सामाजिक सेवामा पनि अग्रसर रहेको उल्लेख गर्दै भन्नुभयो,
“हामीले विद्यार्थीलाई संस्कारसहितको शिक्षा दिनुका साथै समुदायप्रति उत्तरदायी बन्ने प्रयास गरेका छौँ। ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुँदा यस्तो शिविर आवश्यक ठानेर आयोजना गरेका हौँ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पौडेलले प्रजातन्त्र दिवसलाई अर्थपूर्ण बनाउन सामाजिक सेवा कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा दिगो हेल्थ केयर प्रा.लि. ले प्राविधिक सहयोग प्रदान गरेको थियो। प्राविधिक टोलीले आवश्यक उपकरण, जाँच सेवा तथा व्यवस्थापनमा सहजीकरण गरेको विद्यालयले जनाएको छ।
विद्यालयले स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराएर समुदायप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।












