
समाचार । रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा रहेको नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको १४औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले गर्नुभएको थियो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख चपाईंले पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिप्रति बिरामीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताउनुभयो। उहाँले यसप्रति जनविश्वास बढिरहेको उल्लेख गर्दै केन्द्रलाई अझ व्यवस्थित, प्रभावकारी र विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
केन्द्रका अध्यक्ष चित्रबहादुर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै योग तथा प्राकृतिक चिकित्सा पद्धतिको जागरण समाजमा फैलाउनु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँका अनुसार केन्द्रको उद्देश्य केवल रोग निको पार्नु मात्र नभई निरोगी मानिसलाई दीर्घजीवी बनाउनु पनि हो। योग, व्यायाम, ध्यान तथा प्राकृतिक उपचार विधिबाट शरीरको रक्त शुद्धि सम्भव हुने भएकाले सबैलाई सेवा लिन आग्रह गर्नुभयो।
पञ्चतत्वमा आधारित उपचार प्रणालीका कारण केन्द्र दिनानुदिन लोकप्रिय बन्दै गएको उल्लेख गर्दै अध्यक्ष कार्कीले राज्यले थप लगानी र सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। साथै, जडीबुटी उत्पादन, प्रशोधन र बजारीकरण गर्ने दीर्घकालीन योजना पनि केन्द्रले अघि सारेको जानकारी दिनुभयो।
वि.सं. २०७६ सालदेखि सेवा सञ्चालनमा आएको यस चिकित्सालयले हाल रुपन्देहीसहित देशका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत बिरामी आकर्षित गरिरहेको छ। यहाँ फूड थेरापी, अकुपन्चर, कपिङ, माटो स्नान, डिलक्स हाइड्रो मसाज, पोटली मसाज, सिरोधारा, स्टीम बाथ, हिप बाथलगायतका विभिन्न प्राकृतिक विधिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ।
सात बिघा क्षेत्रफलमा फैलिएको केन्द्रमध्ये पाँच बिघामा विभिन्न प्रजातिका जडीबुटी खेती भइरहेको पनि जानकारी दिइएको छ।
कार्यक्रम केन्द्रका सचिव रामबहादुर कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्यामबहादुर थापाले राख्नुभएको थियो भने कोषाध्यक्ष होमादेवी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।












