बुद्ध इङ्लिस स्कुलमा कक्षा ३ सम्मको नतिजा सार्वजनिक, बाँकी कक्षाको नतिजा भोलि

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको नतिजा सार्वजनिक गर्दै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमसँगै विद्यालयमा सञ्चालनमा रहेको “शिक्षासँगै सुरक्षा” कार्यक्रम अन्तर्गत बीमा वापत करिब २ लाख रुपैयाँ अभिभावकहरूलाई वितरण गरिएको छ। विद्यालयले सिद्धार्थ प्रिमियम इन्स्योरेन्ससँगको सहकार्यमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको बीमा व्यवस्था लागू गरेको थियो। उक्त बीमा योजनाअनुसार विद्यालयभित्र वा बाहिर चोटपटक वा बिरामी भई उपचार गर्दा लाग्ने खर्च बीमाबाट उपलब्ध हुने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज पोखरेलले विद्यालयमा भौतिक पूर्वाधार सुधारसँगै गुणस्तरीय शिक्षामा जोड दिइएको बताउँदै अभिभावक र विद्यार्थीमा विद्यालयप्रति अपनत्वको भावना विकास गराउन विद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

विद्यालयका प्राचार्य लेखनाथ गैरेले विद्यार्थीको व्यक्तिगत भिन्नतालाई ध्यानमा राख्दै शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। उहाँले शिक्षासँगै सीप र संस्कारलाई प्राथमिकतामा राखेर विद्यालय अघि बढिरहेको धारणा राख्नुभयो।

कार्यक्रममा अभिभावक तथा पूर्व शिक्षक ओमप्रकाश अर्यालले विद्यालय सकारात्मक दिशातर्फ अग्रसर रहेको प्रतिक्रिया दिनुभयो। साथै विद्यार्थी तथा शिक्षकहरूको नृत्य प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

प्राचार्य लेखनाथ गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष खिमराज पोखरेलको प्रमुख आतिथ्यता, सहप्राचार्य सुकदेव ज्ञवालीको स्वागत मन्तव्य तथा प्राथमिक तह इन्चार्ज शिक्षिका गंगा रानाको सञ्चालन रहेको थियो।

विद्यालयले बाँकी कक्षाहरू (कक्षा ३ देखी माथि) को नतिजा भोलि आइतबार सार्वजनिक गर्ने तथा पुरस्कार वितरण कार्यक्रम समेत जारी रहने जनाएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation