मुर्गिया खानेपानीको नयाँ समिति पदस्थापित, पहिलो दिनमै समस्या समाधानको पहल

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको गत चैत २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिको आज पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।

लालबहादुर रावल नेतृत्वको नयाँ टिम पदस्थापनासँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो। कार्यक्रम खानेपानी संस्थाकै सभाहलमा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्न दृढतापूर्वक काम गर्न आग्रह गर्नुभयो। उहाँले खानेपानी व्यवस्थापनलाई अझ प्रभावकारी र पारदर्शी बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष लालबहादुर रावलले आफूलाई विजयी गराउने सम्पूर्ण उपभोक्ताप्रति धन्यवाद व्यक्त गर्दै खानेपानीका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै उहाँले पूर्व समिति, निर्वाचन मण्डल र कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो।

यसैबीच, आजै बिहान उपकार अनलाइनले प्रकाशित गरेको “मुर्गिया खानेपानीमा उपभोक्ता पानीबाटै वञ्चित, सम्बन्धित निकाय व्यस्त भन्दै पन्छियो” शीर्षकको समाचारप्रति नयाँ समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पदस्थापनापछि बसेको छलफलमा उक्त विषयलाई प्राथमिकताका साथ उठाइ तत्काल समाधानको पहल गरिएको र अहिले पानी आपूर्ति पुनः सुचारु भइसकेको जानकारी समितिले दिएको छ।

नयाँ समितिले सुरुवातमै देखाएको सक्रियताले उपभोक्तामा सकारात्मक सन्देश गएको छ भने आगामी दिनमा दीर्घकालीन समाधानतर्फ पनि ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation