सैनामैना–कञ्चन मैत्रीपूर्ण क्रिकेटः घरेलु टोलीको शानदार जित

सैनामैना । सैनामैना क्रिकेट क्लबको आयोजनामा सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाबीच सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सैनामैनाले प्रभावशाली जित हात पारेको छ। ३५ वर्षमाथिका खेलाडीलाई पुनः खेलकुदमा सक्रिय बनाउने उद्देश्यले आयोजित एकदिने खेलले स्थानीय क्रिकेटमा नयाँ ऊर्जा थपेको छ।

टस जितेर ब्याटिङ रोजेको सैनामैनाले निर्धारित १६ ओभरमा कञ्चनलाई १३४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कञ्चन गाउँपालिका भने लक्ष्य भेट्न नसकी १२२ रनमै सीमित रह्यो, जससँगै सैनामैना विजयी बन्यो।

प्रतियोगितापछि बोल्दै क्लबका अध्यक्ष कृष्ण ज्ञवालीले कोरोना महामारीपछि सुस्ताएको स्थानीय क्रिकेटलाई पुनः चलायमान बनाउन यस्ता गतिविधि आवश्यक रहेको बताए। उनले यस्ता मैत्रीपूर्ण खेलहरूले दुई पालिकाबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सैनामैना–७, लम्टियामा सम्पन्न खेलमा दुवै पालिकाबाट एक–एक टोलीको सहभागिता रहेको थियो। कार्यक्रम क्लबका अध्यक्ष कृष्ण ज्ञवालीको अध्यक्षता, वडा नं ७ का अध्यक्ष राजकुमार चौधरीको आतिथ्यता तथा सञ्चारकर्मी प्रदीप ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो।

पछिल्लो समय कृष्ण ज्ञवालीको नेतृत्वमा सैनामैना क्रिकेटले पुनः गति लिएको स्थानीयले बताएका छन्, जसले आगामी दिनमा अझ व्यवस्थित र प्रतिस्पर्धात्मक खेलकुद गतिविधिको संकेत गरेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation