
सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नगरको वडा नं. ३ मा एक कार्यक्रमको आयोजना गरि शुक्रबार संस्थाको १८ औँ वार्षिक सभा सम्पन्न भएको हो ।
साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्ताहरुलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ योजनाका लागि पालिका सधै संघसंस्थासँग सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो ।
पूर्व नगर प्रमुख चित्र बहादुर कार्कीले मुर्गिया खानेपानीले स्वच्छ पिउने पानीसहित सरससफाई अभियानका विषयमा समेत ध्यान पुराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सघीय खानेपानीका सिडिई विनोद भुजेल, खानेपानी डिभिजन प्रमुख गुणनिधी पोखरेल, पूर्व सहसचिव तथा रुपन्देही डिभिजन प्रमुख नन्दलाल बञ्जाडे, फेडवासनका रुपन्देही अध्यक्ष धुव्र धिताल लगायत बोल्दै सरकारले योजनाहरु ल्याउने तर बजेट व्यवस्थापन र कर्मचारी व्यवस्थापनमा भने सोही अनुसार हुन नसकेकोमा गुनासो गरेका छन् । योजनासँगै प्रर्याप्त मात्रामा बजेट र मानव स्रोत साधनको लागि पहल गर्न सबै एकजुट हुन् आवश्यक रहेको समेत उनीहरुले औल्याए ।
संस्थाका अध्यक्ष प्रेम बानियाँले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै भए गरेका प्रगति विवरण र आगामी योजनाबारे प्रकाश गर्नुभयो । उहाँले हाल ३ हजार ९ सय २० घरधुरीमा धारा जडान भई करिब ३० हजार जनसङ्ख्याबिच खानेपानी वितरण भइरहेको बताउनुभयो ।
कार्यक्रम मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, तथा पूर्व नगर प्रमुख चित्र बहादुर कार्की, संघीय खानेपानीका सिडिई विनोद भुजेल, खानेपानी डिभिजन प्रमुख गुणनिधी पोखरेल, पूर्व सहसचिव तथा रुपन्देही डिभिजन प्रमुख नन्दलाल बञ्जाडे, फेडवासनका रुपन्देही अध्यक्ष धुव्र धितालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा सचिव भिम बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको हो ।