काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल(बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ ।
२०७७ को साउन पहिलो साता नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई पूर्व स्वीकृति दिएको थियो ।
वर्षायाममा बढी हुने बिजुली नेपालले बंगलादेश निर्यात गर्ने छ । त्यसका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने छ । त्यसैले यसमा भारतीय पक्षको पनि स्वीकृति अनिवार्य भएको छ । यद्यपि नेपाल र बंगलादेशबीच छुट्टै डेडिकेटेड प्रसारण लाइन बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
केही वर्षयता नेपाल र बंगलादेश बीच डेडिकेटेड ट्रान्समिसन लाइन निर्माणको सम्बन्धमा छलफल चलिरहेको छ । तत्कालका लागि भारतको सिलगुडी करिडोरमा रहेको भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने बंगलादेश र नेपाली पक्षको प्रस्ताव छ ।
भारतबाट सहमतिको वातावरण तयार गर्न नेपालले बंगलादेश र भारतसँग त्रिदेशीय छलफल अघि बढाउन चाहेको छ । २८ असोज २०७६ मा दिल्लीमा भएको नेपाल(भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटीको सातौं बैठकले ‘नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता आवश्यक भएको, यसबारे छलफल गर्न भारतीय विदेश मन्त्रालयले तीन महिनाभित्र छुट्टै बैठक आयोजना गर्ने’ सहमति भएको थियो । तर भारतले अहिलेसम्म यस्तो बैठक आह्वान गरेको छैन । सोमबार र मंगलबार आयोजित नेपाल(बंगलादेश ऊर्जासचिवस्तरीय बैठकमा भारतको प्रसारण लाइन प्रयोगका लागि भारतलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने निर्णयसमेत भएको छ ।