भारत र पाकिस्तानसँग राम्रो क्रिकेट खेल्छौँ : कप्तान पौडेल

काठमाण्डौ । भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी देशसँग राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एसिया कपको यात्रा शुरु हुनुअघि आज मङ्गलवार काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी देश भारत र पाकिस्तानसँग राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन् । आउँदो अगस्ट ३० मा पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु पनि गर्दैछ । एसिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ । त्यसका लागि नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्दैछ ।

कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताए । भारत र पाकिस्तानसँग खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूसँग आफ्नो उत्कृष्ट दिने उनको भनाइ छ । साथै सबै खेलाडी क्रिकेटको बलिया देशसँग खेल्न उत्साहित रहेको उनले बताए ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामिछानेले एसिया कप नखेल्ने समाचार बाहिरिएका छन् । उनले नखेल्ने भएपछि उनका समर्थक पनि सन्दीपको सहभागिता नहुने विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन् । नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्त्व सबैमाझ स्पष्ट रहेको बताए ।

क्यानका म्यानेजर प्रदीप मजगैयाँले पनि सन्दीपको सहभागिता नहुने विषयमा अहिले नै टुङ्गो लागिनसकेको बताए । उनले सन्दीपको स्वास्थ्यमा समस्या रहेको पनि दाबी गरे । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले पछिल्लो समय भएका केही भ्रमणमा पनि सन्दीपको सहभागिता दुविधामा नै रहँदै आएको उल्लेख गर्दै उनी टोलीका च्याम्पियन खेलाडी रहेको बताए ।

समूह ुएु मा रहेको नेपालले दोस्रो खेल अर्को बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलङ्का जानेछ । बलियो भारतसँगको खेलका लागि पनि नेपाली टोली तयारीमा रहेको कप्तान पौडेल र प्रशिक्षक देसाईको भनाइ थियो । कप्तान रोहितले विश्वकप छनोटमा टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग खेलेकाले त्यहाँबाट धेरै कुरा सिकेको र त्यो भारत र पाकिस्तानसँगको खेलमा लागू गर्ने विश्वास व्यक्त गरे ।

नेपालले एसिया कपका लागि लामो समयदेखि तयारी गरिरहेको छ । वैदेशिक प्रशिक्षणसँगै घरमा पनि नेपालले तयारी गरिरहेको थियो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरूसँग अन्तिम समयसम्म चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन् । पछिल्लो पाँचरछ महिनायता जित्ने मानसिकताका साथ प्रशिक्षण गरिरहेको उनको भनाइ छ ।

रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम) प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । यद्यपि सन्दीपको सहभागिताबारे टुङ्गो लागिसकेको छैन ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation