एसियन कप छनोटमा बङ्गलादेशसँग ३–० गोलले नेपाल पराजित

काठमाण्डौ । २० वर्षमुनिको एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।

बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एकरएक गोल गरे । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा भएको खेलमा नेपाल ९ र बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

खेलको २६औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरी र ३५औँ मिनेटमा कप्तान आयुष घलानले रातो कार्ड पाए । बङ्गलादेशका अजिजुल हक एनान्टोले दोहोरो पहेँलो कार्ड पाएपछि बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

समूह चरणमा नेपालको लगातार चौथो हार हो । हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अङ्कविहीन रहँदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । पहिलो खेलमा नेपाल भुटानसँग, दोस्रो खेलमा कतारसँग र तेस्रो खेलमा आयोजक बहराइनसँग पराजित भएको थियो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation