नवौं राष्ट्रिय खेलकुद सकियो, त्रिभुवन आर्मीले जित्यो सर्वाधिक पदक

पोखरा । नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको छ। गण्डकी प्रदेशमा असोज २८ देखि औपचारिक रूपमा सुरू गरिएको नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरा रंगशालामा समापन गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको समापन समारोहमा कर्णाली प्रदेशमा २०८१ मा हुने दसौं राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरियो।

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा भएको थियो। जसमा त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जित्यो। आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जितेको छ।

दोस्रो स्थान एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१९ पदक हात पारेको छ। तेस्रो स्थानको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कुल १९५ पदक जित्यो। चौथो बनेको आयोजक गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पार्‍यो। पाँचौं स्थानको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्न सफल भयो। छैठौं स्थानमा प्रदेश एक रह्यो। उसले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक भित्र्यायो। सातौं स्थानमा रहेको सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्न सफल भयो।

एनआरएनए टिम आठौं भयो। उसले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक हात पार्‍यो। लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा रह्यो। दसौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक हात पार्‍यो। अन्तिम स्थानमा कर्णाली प्रदेश रह्यो। उसले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्न सफल भयो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation