वर्षाले खेल रोकिएसी दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडेका छन् । सोमवार भएको सुपर १२ को समूह बी को दोस्रो खेल वर्षाले रद्द भएपछि दक्षिण अफ्रिका र जिम्बावेले एक–एक अङ्क बाँडेका हुन् ।

यसअघि नौ ओभरमा झारिएको खेलमा जिम्बावेले पाँच विकेट गुमाएर ७९ रन बनाएको थियो । उसका विस्ले मेधेभिरेले नटआउट ३५ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले दुई विकेट लिए ।

खेल पटक–पटक वर्षाले प्रभावित हुँदा दक्षिण अफ्रिकाले सात ओभरमा ६४ रनको लक्ष्य पाएको थियो । दक्षिण अफ्रिकाले तीन ओभरमा विना विकेट ५१ रन बनाउँदा फेरि पानी पर्न थालेपछि दुवै टोलीले अङ्क बाँडेका हुन् । उसका क्विन्टन डी कक ४७ रनमा नटआउट रहे ।

यो बराबरीसँगै दक्षिण अफ्रिका तेस्रो स्थानमा र जिम्बावे चौथो स्थानमा रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation