श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ ।

ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ खेलबाट समान ७ अंक जोडेका थिए । तर रनरेटमा अष्ट्रेलिया पछि पर्दै सुपर १२ बाटै बाहिरिएको हो । ग्रुप १ बाट न्युजिल्याण्ड समूह विजेता र इंग्ल्याण्ड समुह उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् ।

एडिलेडमा भएको खेलमा श्रीलंकाले दिएको १४२ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्याण्डका लागि एलेक्स हाल्सले सर्वाधिक ४७ रन बनाए भने बेन स्टोकसले अविजित ४२ रन जोडे ।

श्रीलंकाका लहिरु कुमार, वानिन्दु हसरंगा र धनन्जय डा शिल्भाले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । श्रीलंकाका ओपनर पथुम निसान्काले सर्वाधिक ६७ रन बनाए । इंग्ल्याण्डका मार्क उडले सर्वाधिक ३ विकेट लिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation