जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

काठमाडौं । चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपको लगातार दोस्रो संस्करण समूह चरणबाटै बाहिरिएको छ ।

दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४–२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजा अप्रत्यासित आउँदा जर्मनी अभागी देखिएको हो । अर्को खेलमा जापानले स्पेनमाथि सनसनी जित निकालेको थियो ।

विश्वकपको ग्रुप अफ डेथ मानिएको समूह ई मा दुई विश्व च्याम्पियन स्पेन र जर्मनी थिएन । दुवैलाई पछि पार्दै एसियाली देश जापानले यो समूहको विजेताका रुपमा आफूलाई उभ्याएको छ । समूहमा दुवै टिममाथि जापान हावी भयो । स्पेनले उपविजेता बनेर नकआउटमा आफूलाई छनोट गरेको छ ।

यो समूहबाट जापान ६ अंकसहित विजेता बन्दा ४ अंकसहित स्पेन उपविजेता बन्यो । जर्मनीको समान ४ अंक नै भए पनि गोलअन्तरमा पछि परेको हो । खेलमा कोष्टारिकाले अग्रतासमेत बनाएको थियो ।

यदि यो खेलमा कोष्टारिका र अर्को खेलमा जापानले जितेको भए यसपल्ट विश्वकपबाट दुई पूर्व च्याम्पियन समूह चरणबाटै घर फर्किने निश्चित हुने थियो ।

सर्ज जिनेब्रीले ११औं मिनेटमै गोल गरेपछि पहिलो हाफमा जर्मनीले अग्रता लिएको थियो । तर, १२ मिनेटको अन्तरमा दुई गोल गर्दै कोष्टारिका खेलमा फर्कियो । ५८औं मिनेटमा एलस्टिन टेजेडा र ७०औं मिनेटमा जुवान भार्गासले गोल गरेका थिए ।

काइ हाभेट्जले लगातार दुई गोल गरी पुनः जर्मनीलाई अग्रता दिलाए । उनले ७३ र ८५औं मिनेटमा गोल गरेका थिए । ८९औं मिनेटमा निक्लस फुल्कर्गले गोल गरे पनि जर्मनीलाई नकआउट चरणमा पुग्न पर्याप्त रहेन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation